काठमाडौं ,७ जेष्ठ//
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले कर, पूर्वाधार, ऊर्जा, शिक्षा तथा वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसदहरूले जनतामाथि करको भार नबढाउन, विकास निर्माणका कामलाई तीव्रता दिन र सेवा प्रवाह प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका हुन् ।
सांसद सुलभ खरेलले कर नीतिलाई जनमैत्री बनाउनुपर्ने बताए ।
सांसद सुशान्त वैदिकले प्युठानका अलपत्र सडक छिटो सम्पन्न गर्न र चट्याङबाट बच्न प्रतिरोधी टावर निर्माण गर्न माग गरे ।
सांसद सुशील खड्काले कबाडी कर खारेज गर्दै फोहोर व्यवस्थापनलाई उत्पादनमुखी बनाउन सुझाव दिए ।
सांसद सुषमा स्वर्णकारले विद्युत् आपूर्तिमा अवरोध नगर्न सरकारलाई आग्रह गरिन् ।
सांसद सुहाङ नेम्वाङले इलामका सडक र पुलको अवस्था सुधार गर्न माग गरे ।
सांसद सोम शर्माले पुराना घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे ।
सांसद स्मृति चौधरीले युवाको विदेश पलायन रोक्ने नीति आवश्यक रहेको बताइन् ।
सांसद हरिनादेवी कामीले डडेल्धुराको रङ्गुन खोलाले गरेको कटान रोक्न तटबन्ध निर्माण गर्न माग गरिन् ।
सांसदहरूले विभिन्न क्षेत्रका समस्या उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।