काठमाडौं,७ जेष्ठ //
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सरकारले तत्काल राष्ट्रिय ट्रमा नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेको अवस्थालाई रोक्न प्रभावकारी नीति आवश्यक रहेको बताइन् ।
उनले सडक निर्माण गर्ने तर नागरिकलाई दुर्घटनाबाट जोगाउन नसक्ने हो भने सरकार नैतिक र नीतिगत रूपमा असफल हुने उल्लेख गरिन् ।
कार्कीले विगतमा भएका कमजोरी दोहोरिन नहुने भन्दै अहिलेको सरकारले ठोस कदम चाल्नुपर्ने बताइन् । उनले राष्ट्रिय ट्रमा नीति लागू भए भविष्यमा हुने ठूला दुर्घटना तथा मानवीय क्षति न्यूनीकरण गर्न सकिने धारणा राखिन् ।