काठमाडौं ,७ जेष्ठ//
विपक्षी दलहरूको विरोधका बीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा बैठक सञ्चालन अघि बढाएका छन् ।
प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले विरोध जनाएपछि पहिलो बैठक स्थगित गरिएको थियो । तर, दोस्रो बैठकमा पनि विरोध जारी रहेकै अवस्थामा सभामुखले कार्यसूची अघि बढाएका हुन् ।
बिहीबारको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । प्रधानमन्त्री अनुपस्थित भएपछि सभामुखले उनको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका थिए ।
यस क्रममा सत्ता र प्रतिपक्षबीच सवाल-जवाफ समेत भएको थियो । त्यसपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । स्थगितपछि बसेको दोस्रो बैठक भने विरोधकै बीच सञ्चालन गरिएको हो ।