बारा ,७ जेष्ठ//
बाराको प्रसौनी गाउँपालिकास्थित एक लाइटर फैक्ट्रीमा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रसौनी गाउँपालिका–४ मा रहेको पशुपति लाइटर फैक्ट्रीको लाइटर भर्ने प्लान्टमा बुधबार बेलुका साढे ७ बजेतिर आगलागी भएको हो ।
प्रहरीका अनुसार हातले गुडाउने ट्रलीमा लाइटर लोड गरी अर्को ठाउँमा सार्ने क्रममा ट्रली लड्दा आगलागी सुरु भएको थियो ।
आगलागीबाट लाइटर उत्पादन प्लान्टमा ठूलो क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा इलाका प्रहरी कार्यालय प्रसौनीले जनाएको छ ।
प्रहरी टोली, फैक्ट्रीका कामदार तथा गाउँपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।