जनकपुरधाम ,८ जेष्ठ//
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मतअघि मधेश प्रदेशको सत्ता समीकरण समेत फेरिएको छ । जसपा नेपाललाई सरकारबाट बाहिर गर्दै नेकपा एमालेलाई सरकारमा सहभागी गराइएको छ ।
मुख्यमन्त्री यादवले जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् ।
यससँगै मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच नयाँ गठबन्धन बनेको छ । नयाँ समीकरणसँगै सरकारलाई स्पष्ट बहुमत पुग्ने देखिएको छ ।
१०७ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ । कांग्रेस, एमाले र नेकपाको गठबन्धनसँग हाल ६१ सिट रहेको छ ।