काठमाडौं, ८ जेष्ठ//
नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट लागूऔषध कारोबारमा संलग्न १ हजार ५६ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये उपत्यकाबाट १ सय ७१, कोशीबाट २ सय ६, मधेशबाट ७०, बागमतीबाट १ सय ५४, गण्डकीबाट ५६, लुम्बिनीबाट १ सय ६०, कर्णालीबाट २१, सुदूरपश्चिमबाट १ सय ६७ तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट ४२ जना रहेका छन् ।
सो अवधिमा प्रहरीले १ हजार ८ सय २० किलोभन्दा बढी गाँजा, १९ किलोभन्दा बढी चरेस, ४ किलोभन्दा बढी हेरोइन तथा अफिम, कोकिन, पोलेन लगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ ।
त्यस्तै डाइजेपाम, फेनारगन, बुप्रेनोर्फिन, ट्रामाडोल, नाइट्राभेट र स्पास्मो लगायतका नियन्त्रित औषधि पनि ठूलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध कारोबार तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कडाइका साथ सक्रिय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।