काठमान्डौ,१५ जेष्ठ//
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो । बजेट रास्वपाको ‘वाचापत्र’लाई आधार बनाएर तयार गरिएको बताइएको छ ।
सरकारले राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्ब रुपैयाँको सीमाभन्दा माथि गएर करिब २१ देखि २२ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ । न्यून राजस्व संकलन र वित्तीय दबाबबीच पनि सरकारले महत्वाकांक्षी बजेट ल्याउन लागेको हो ।
बजेटमा ७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब डलरमा पुर्याउने तथा १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखिएको छ ।
सूचना प्रविधिलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै स्टार्टअपका लागि बीउ पूँजी, युवाका लागि ‘रिमोट वर्क’ कार्यक्रम तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकता दिइने भएको छ ।
त्यस्तै, बन्द उद्योग पुनः सञ्चालन, ‘लाइन होइन अनलाइन’मार्फत सरकारी सेवा प्रवाह तथा सुशासनलाई पनि बजेटको मुख्य प्राथमिकतामा राखिएको छ ।
प्रशासनिक सुधारअन्तर्गत निजामती कर्मचारीको तलब वृद्धि र ट्रेड युनियन खारेजीसम्बन्धी नीतिहरू पनि बजेटमा समेटिन सक्ने बताइएको छ ।
पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी बढाउने लक्ष्यसहित सुरुङमार्गलगायत ठूला आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउने तयारी गरिएको छ ।