जेठ १५, रौतहट
रौतहटमा गत जेठ ११ गते सोमबार साझ आएको भीषण हावाहुरीका कारण ज्यान गुमाएकी महिलाको परिवारलाई बृन्दावन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ । जिल्लाको बृन्दावन नगरपालिका–७, धमौरा गढी टोल निवासी बच्चेलाल रायकी पत्नी ३५ वर्षीया फुलकुमारी देवीको हावाहुरीका कारण घर भत्किंदा च्यापिएर दुःखद मृत्यु भएको थियो । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका राय परिवारलाई दैनिक गुजारा चलाउन समेत कठिनाइ भइरहेको अवस्थामा बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मि स्वयं मृतक परिवारको घरमै पुगेर खाद्यान्न सामग्री तथा नगद राहत हस्तान्तरण गरेका हुन् ।
राहत हस्तान्तरण कार्यक्रममा नगर प्रमुख कुर्मिले मृतक फुलकुमारी देवीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए । उनले विपद्को यस कठिन घडीमा परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै नगरपालिकाले सधैं नागरिकको दुःख–सुखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख कुर्मिले आफ्नो व्यक्तिगत पहल तथा सहयोगस्वरूप मृतक परिवारलाई २५ किलोका ४ बोरा चामल, १० किलो आलु, ७ किलो दाल, ५ किलो प्याज, २ लिटर खाने तेल, ५ किलो नुन तथा नगद ५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मिले भने,“नगरपालिकाका सबै नागरिक समान हुन् । हामी धर्म, जात, समुदायभन्दा माथि उठेर प्रत्येक नागरिकलाई समान रूपमा हेर्छौं ।
नगरका कुनै पनि नागरिक समस्यामा परे नगरपालिकाले आफनो जिम्मेवारीबाट पछि हट्दैन ।”उनले नगरपालिकाले विशेषगरी गरिब, विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक तथा विकासमूलक योजनाहरू सञ्चालन गरिरहेको बताए । शिक्षा, स्वास्थ्य, आधारभूत सेवा तथा सामाजिक समावेशितालाई मजबुत बनाउन नगरपालिकाले निरन्तर काम गरिरहेको उनको भनाइ थियो ।
नगर प्रमुख कुर्मिले आगामी दिनमा पनि विपद् तथा समस्यामा परेका नगरवासीको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । यता मृतक फुलकुमारी देवीका परिवारजनले नगर प्रमुख कुर्मिद्वारा प्रदान गरिएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले भने,“हाम्रो परिवारमाथि ठूलो विपत्ति परेको बेला नगरपालिकाले गरेको सहयोग निकै महत्वपूर्ण छ । यस्तो दुःखको समयमा साथ र सहयोग पाउंदा हामीलाई ठूलो सहारा मिलेको छ ।” स्थानीय बासिन्दाहरूले पनि नगर प्रमुख कुर्मिको मानवीय कार्यको प्रशंसा गर्दै विपद्को समयमा जनप्रतिनिधि स्वयं पीडितको घरमै पुगेर सहयोग गर्नु सकारात्मक उदाहरण भएको बताएका छन् ।
आगामी दिनमा पनि यस्तै सहयोग र साथ निरन्तर रहने विश्वास उनीहरूले व्यक्त गरेका छन् । उल्लेखनीय छ, गत सोमबार साँझ अचानक आएको तीव्र गतिको हावाहुरी तथा वर्षाले बृन्दावन नगरपालिका क्षेत्रका धेरै कच्ची घर तथा टहरामा क्षति पु¥याएको थियो । सोही क्रममा बच्चेलाल रायको टायलको छानो र बांसको बारले बनेको एकतल्ले कच्ची घर एक्कासी भत्किँदा घरभित्र रहेकी फुलकुमारी देवी बाहिर निस्किन नपाउंदै च्यापिएर ज्यान गुमाएकी थिइन् ।