जेठ १६, रौतहट
पूर्व स्वास्थ्य राज्य मन्त्री तथा पूर्व राजदूत डा। वंशीधर मिश्र रौतहट आगमनसँगै जिल्लावासीमा उत्साह र खुसी छाएको छ । मुस्लिम समुदायको महान पर्व ईदुल अज्हा (बकरीद) को अवसरमा विभिन्न स्थानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुँदै डा. मिश्रले सम्पूर्ण मुस्लिम समुदायलाई ईद मुबारक तथा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
रौतहटका विभिन्न क्षेत्रका मुस्लिम अगुवा, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणसँग भेटघाट गर्दै उहाँले धार्मिक सद्भाव, सामाजिक एकता र आपसी भाइचाराको सन्देश दिनुभएको थियो । कार्यक्रममा सहभागी स्थानीयवासीहरूले डा. मिश्रप्रति सम्मान र आत्मीयता व्यक्त गरेका थिए ।
.jpg)
यसै क्रममा डा. मिश्रले परोहा नगरपालिका अन्तर्गत लौकाहामा रहेको अस्पतालको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ । अस्पतालको सेवा सुविधा, बिरामीको अवस्था तथा स्वास्थ्य पूर्वाधारबारे जानकारी लिँदै उहाँले स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव दिनुभएको बताइएको छ । स्थानीयवासीहरूले स्वास्थ्य क्षेत्रमा डा. मिश्रले विगतमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

डा. मिश्रको रौतहट आगमनले जिल्लाका सबै समुदायमा सकारात्मक सन्देश फैलिएको स्थानीयहरूले बताएका छन् । विशेषगरी मधेशको स्वास्थ्य, शिक्षा र विकासका क्षेत्रमा उहाँले खेलेको भूमिकालाई सम्झँदै धेरै नागरिक अहिले पनि उहाँलाई अत्यन्तै मिस गरिरहेको जनाइएको छ ।
स्थानीय नागरिकका अनुसार रौतहटका चारै निर्वाचन क्षेत्रमा अहिले पनि “डा. साब” भनेर चिनिने डा. वंशीधर मिश्रप्रति जनताको आत्मीयता उस्तै रहेको छ । “डा. साब रौतहट आएको खबर मात्रै थाहा भयो भने जनता एक सेकेन्ड पनि छोड्दैनन्, भेट्न र स्वागत गर्न दौडिन्छन्,” एक स्थानीयले बताए ।

जनतामाझ सरल, मिलनसार र सेवाभावी नेताको छवि बनाएका डा. मिश्र प्रति अहिले पनि रौतहटवासीको विशेष माया र विश्वास कायम रहेको देखिन्छ । उहाँको आगमनले जिल्लामा पुराना राजनीतिक तथा सामाजिक सम्बन्धहरू पुनः ताजा बनेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।