जेठ १५, रौतहट
रौतहटको बृन्दावन नगरपालिका मा गणतन्त्र दिवस २०८३ स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूको सहभागितामा विविध रचनात्मक कार्यक्रम गरी भव्यताका साथ मनाइएको छ । शुक्रबार आयोजित विशेष समारोहमा नगर प्रमुख बिनोद प्रसाद कुर्मी ले नगर कार्यपालिकाको प्राङणमा राष्ट्रिय झण्डा फहराउंदै कर्मचारी तथा सहभागीहरूसँग शुभकामना आदानप्रदान गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा नगरपालिकाले सहिदप्रति श्रद्धाञ्जली अर्पण, प्रभातफेरी, दीप प्रज्वलन तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले गणतन्त्र दिवसको अवसरमा न्याय, समानता, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यताका पक्षधर सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका थिए ।
उनले नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताए ।
उनले गणतन्त्र कुनै एक व्यक्ति वा राजनीतिक दलको उपलब्धि नभई परिवर्तन चाहने सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको उल्लेख गर्दै संविधानको मूल मर्म, मूल्य र मान्यतामाथि कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गरे । संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूलाई सुधार गर्दै राज्य सञ्चालन प्रक्रियामा रहेको परम्परागत सोच तथा स्वेच्छा चारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
नगर प्रमुख कुर्मीले जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशी व्यवस्थालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै सांचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हुने बताए । “गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,” भन्दै उनले उपेक्षित, उत्पीडित तथा पछाडि पारिएका वर्ग, समुदाय र क्षेत्रको अधिकार सुनिश्चित गर्न पूर्ण समानुपातिक तथा समावेशी व्यवस्थालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको बताए । सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्नु सबैको साझा लक्ष्य भएको उल्लेख गर्दै उनले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद, सहकार्य र सहमतिको संस्कार विकास गर्नुपर्ने धारणा राखे ।
नगर प्रमुख कुर्मीले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नु सबै नेपालीको पहिलो जिम्मेवारी भएको उल्लेख गर्दै परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति सचेत रहनुपर्ने बताए ।
कार्यक्रममा उनले नेपालमा गणतन्त्र स्थापनाको ऐतिहासिक पृष्ठभूमिबारे पनि चर्चा गरेका थिए । उनले बि।सं। २०६२र६३ को जनआन्दोलनपछि संविधान सभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको स्मरण गराए । साथै संविधान सभाले डां रामवरण यादव लाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको तथा हाल विद्यादेवी भण्डारी नयाँ संविधान जारीपछिको पहिलो राष्ट्राध्यक्ष बनेको प्रसंग समेत उल्लेख गरे ।
नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष, संविधानको संरक्षक तथा राष्ट्रिय एकताको प्रतीकको रूपमा स्थापित गरेको उल्लेख गर्दै नगर प्रमुख कुर्मीले संविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताए ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमले लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता तथा संविधानप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।