जेठ १५, रौतहट
मधेस प्रदेश सरकारको तथाकथित “आसारे विकास” प्रवृत्ति यस वर्ष पनि रौतहटमा दोहोरिएको छ। आर्थिक वर्ष समाप्त हुन केही सातामात्र बाँकी रहँदा बजेट सक्ने हतारोमा जिल्लाका विभिन्न स्थानीय तहमा गुणस्तरहीन विकास निर्माण कार्य तीव्र बनाइएको छ। यसैबीच रौतहटको बौधीमाई नगरपालिकामा भइरहेको सडक स्तरउन्नतिको काममा व्यापक अनियमितता भएको आरोप स्थानीयवासीले लगाएका छन्।
पूर्वाधार विकास कार्यालय रौतहटको मातहतमा बौधीमाई नगरपालिका वडा नं. ३ मटिअर्वामा करिब २० लाख रुपैयाँ लागतमा भइरहेको सडक ढलान कार्यमा प्राविधिक मापदण्डको खुला उल्लंघन गरिएको स्थानीयको दाबी छ। स्थानीयवासीका अनुसार इस्टिमेट अनुसार १२ इन्च ढलान हुनुपर्ने सडक कतै ६ इन्च त कतै ४ इन्च मात्रै ढलान गरिएको छ। निर्माण कार्यमा कमसल बालुवा, न्यून गुणस्तरको सिमेन्ट तथा मापदण्ड विपरीतको मिश्रण प्रयोग गरिएको आरोप समेत लागेको छ।
स्थानीयहरूले सडकलाई मजबुत बनाउन अनिवार्य मानिने रोड रोलरको प्रयोग नै नगरी सिधै ढलान गरिएको बताएका छन्। जसका कारण सडक केही महिनामै भत्किने जोखिम बढेको उनीहरूको भनाइ छ। पटक–पटक गुणस्तर सुधार गर्न आग्रह गर्दा समेत निर्माण कम्पनी तथा सम्बन्धित पक्षले अटेरी गरेको स्थानीयको गुनासो छ। “सडक स्तरउन्नतिको नाममा प्रदेशको बजेट लुट्ने काम भइरहेको छ,” एक स्थानीयले आक्रोश पोख्दै भने, “अनुगमन गर्ने निकाय मौन बस्नुले कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको आशंका झनै बलियो बनेको छ।”
स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायसँग तत्काल प्राविधिक टोली पठाएर सडकको नापजाँच गर्न, दोषीमाथि कारबाही गर्न तथा मापदण्ड अनुसार पुनः निर्माण गराउन माग गरेका छन्।
बजारमा विषादीयुक्त आँपको बिगबिगी
यता विकास निर्माणमा मात्रै होइन, जनस्वास्थ्यको सवालमा समेत सम्बन्धित निकायको लापरवाही देखिएको भन्दै नागरिक समाजले चिन्ता व्यक्त गरेका छन्। रौतहटका मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक मानिएको रासायनिक पदार्थ “कार्बाइड” प्रयोग गरेर पकाइएका आँप खुलेआम बिक्री भइरहेको पाइएको छ।
जिल्लाको चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया तथा शिवनगर लगायतका क्षेत्रमा सञ्चालन भइरहेका घुम्ती पसल तथा फलफूल व्यवसायीहरूले बेसिजनमै पाकेका पहेँला आँप बिक्री गरिरहेका छन्। उपभोक्ताका अनुसार भारतबाट भित्र्याइएका काँचो आँपलाई कार्बाइड प्रयोग गरेर जबरजस्ती पकाई बजारमा बिक्री वितरण भइरहेको छ।
चन्द्रनिगाहपुरका स्थानीय बिमल उप्रेती भन्छन्, “उपभोक्ता बाध्य भएर विषादीयुक्त आ“प खान विवश छन्। बजारमा सुरक्षित फलफूल पाउनै मुस्किल भएको छ।”
स्थानीय सन्तोष पौडेलका अनुसार नेपालमा स्थानीय आ“प पाक्ने मुख्य समय असार महिना हो। तर, जेठ महिनामै बजारभरि पाकेका अँप देखिनु सीमावर्ती भारतीय बजारबाट आयात गरिएका आँपलाई रासायनिक पदार्थ प्रयोग गरेर पकाइएको स्पष्ट संकेत भएको उनी बताउंछन्। “बढी नाफा कमाउने लोभमा व्यापारीहरूले जनस्वास्थ्यसँग खेलबाड गरिरहेका छन्,” पौडेलले भने, “तर नियमनकारी निकाय भने मौन छन्।”
स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकको चेतावनी
चन्द्रपुर अस्पतालका प्रमुख डाक्टर सुभाष चौधरीका अनुसार कार्बाइड वा विषादी प्रयोग गरेर पकाइएका फलफूल स्वास्थ्यका लागि अत्यन्त हानिकारक हुन्छन् । यस्ता फलफूल सेवन गर्दा तत्काल तथा दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने उनको भनाइ छ । “कार्बाइडयुक्त आँपले कलेजो, मिर्गौला, पाचन प्रणाली तथा स्नायु प्रणालीमा असर गर्न सक्छ,” डा.
चौधरीले भने, “सकभर यस्ता विषादीयुक्त फलफूल नखानु नै स्वास्थ्यका लागि राम्रो हुन्छ।”
नियमनकारी निकाय मौन
जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा उपभोक्ता हित संरक्षणसँग सम्बन्धित निकायहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा व्यापारीहरू मनपरी ढंगले विषादीयुक्त फलफूल बिक्री गर्न सफल भइरहेको आरोप नागरिक समाजको छ। आर्थिक वर्षको अन्त्यसंगै एकातिर विकासको नाममा गुणस्तरहीन निर्माण कार्य भइरहेको छ भने अर्कोतर्फ बजारमा विषादीयुक्त खाद्य सामग्री खुलेआम बिक्री भइरहेका छन्।
सम्बन्धित निकायको बेवास्ताले जनताको करबाट सञ्चालित राज्य संयन्त्रमाथि नै प्रश्न उठ्न थालेको छ। स्थानीयवासीले विकास निर्माणमा हुने अनियमितता रोक्न, जनस्वास्थ्यसँग खेलबाड गर्ने व्यापारीमाथि कडा कारबाही गर्न तथा प्रभावकारी बजार अनुगमन सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।