बारा,१९ जेष्ठ//
जीतपुरसिमरा उपमहानगरपालिका ले हालैको हावाहुरीबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।
जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको तीव्र हावाहुरीका कारण दर्जनौं घर, टहरा, गोठ तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो। प्रारम्भिक विवरणअनुसार करिब ९० घरधुरी प्रभावित भएका छन्।
नगर प्रमुख राजन पौडेल को अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको मूल्याङ्कनका आधारमा राहत वितरण गर्ने निर्णय गरेको हो।
उपमहानगरपालिकाका अनुसार आंशिक क्षति भएका परिवारलाई न्यूनतम ५ हजार रुपैयाँ र बढी क्षति भएका परिवारलाई अधिकतम १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइनेछ। हाल प्रभावित क्षेत्रको क्षति विवरण संकलन गर्ने कार्य जारी रहेको छ।