वीरगन्ज,२० जेष्ठ//
चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगन्ज नाका हुँदै रु २० अर्ब ७९ करोड मूल्य बराबरको खाद्यान्न आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले कम हो।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको पहिलो १० महिनामा यस नाका हुँदै रु २४ अर्ब ६६ करोड मूल्य बराबरका १६ प्रकारका खाद्यान्न आयात भएका थिए।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी रु १० अर्ब ९४ करोड मूल्य बराबरको धान आयात भएको छ। त्यस्तै रु पाँच अर्ब ३१ करोड मूल्यको मकै तथा रु दुई अर्ब ८५ करोड मूल्यको चामल आयात गरिएको भन्सार कार्यालयले जनाएको छ।
यसैगरी रु ५९ करोड मूल्य बराबरको माल्ट तथा रु ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार खाद्यान्न आयातको कुल मूल्यमा गिरावट आए पनि धान, मकै र चामलको आयातले समग्र आयातमा प्रमुख हिस्सा ओगटेको छ।