जेठ १९, रौतहट
मधेश प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सिँचाइ सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको स्यालो ट्युबवेल जडान कार्यक्रमप्रति रौतहटका किसानहरूको उत्साहजनक आकर्षण देखिएको छ। कृषि ज्ञान केन्द्र रौतहटमा स्यालो ट्युबवेल जडानका लागि जिल्लाभरबाट ८ सय ७६ जना किसानले आवेदन दर्ता गराएका छन् । कृषि ज्ञान केन्द्र रौतहटका अनुसार कार्यक्रम सञ्चालनका लागि ३ करोड ९८ लाख ४१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उक्त कार्यक्रमअन्तर्गत किसानहरूबाट आवेदन आह्वान गरिएकामा २२ दिनको अवधिमा ८७६ वटा आवेदन परेको हो । पछिल्लो समय जिल्लामा लामो खडेरी र पर्याप्त वर्षाको अभावका कारण सिँचाइ संकट गहिरिदै गएको अवस्थामा किसानहरूले वैकल्पिक सिंचाइ स्रोतको रूपमा स्यालो ट्युबवेलप्रति विशेष चासो देखाएका हुन्।

कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले किसानहरूको आवश्यकता, समस्या तथा कृषि उत्पादनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार रौतहट लगायत मधेश प्रदेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठ महिनादेखि असारको अन्त्यसम्म पर्याप्त वर्षा नहुँदा धानको ब्याड सुक्ने, रोपाइँ प्रभावित हुने तथा उत्पादनमा प्रत्यक्ष असर पर्ने समस्या दोहोरिने गरेको छ ।
“किसानलाई सिंचाइमा आत्मनिर्भर बनाउने र खडेरीको समयमा पनि खेतीपातीलाई निरन्तरता दिन सहयोग पु¥याउने उद्देश्यले स्यालो ट्युबवेल जडान कार्यक्रम ल्याइएको हो,” प्रमुख कुर्मीले भने, “करिब चार बिगाहा क्षेत्रफलको अन्तरालमा एक स्यालो ट्युबवेल रहने गरी योजना बनाइएको छ, जसबाट ठूलो क्षेत्रफलमा सिंचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।”
उनले कृषि ज्ञान केन्द्रबाट प्रदान गरिने सम्पूर्ण सेवा पारदर्शी, निष्पक्ष तथा मापदण्डमा आधारित रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको राजनीतिक दबाब, पहुँच वा सिफारिसका आधारमा नभई योग्य र आवश्यक कागजात पूरा गरेका किसानहरूलाई प्राथमिकता दिइने बताए । “हामीले कार्यालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीलाई अनावश्यक झन्झट नदिई छिटो, छरितो र सहज सेवा प्रवाह गर्ने वातावरण निर्माण गरेका छौं,” उनले स्पष्ट पारे ।

यता कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोज मण्डलका अनुसार आवेदन संकलन अवधि सकिएसँगै मूल्याङ्कन तथा छनोट प्रक्रिया तीव्र गतिमा अगाडि बढाइएको छ। उनले पहिलो चरणमा १५ दिन र दोस्रो चरणमा थप ७ दिन गरी जम्मा २२ दिनको अवधिमा आवेदन संकलन गरिएको जानकारी दिए।
“कार्यक्रमका लागि अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएको छ। कुल ८७६ आवेदनमध्ये कार्यालयले तोकेको मापदण्ड तथा आवश्यक कागजात पूरा गरेका आवेदकहरूलाई प्राथमिकतामा राखी करिब ५ सय किसान छनोट गर्ने तयारी गरिएको छ,” सूचना अधिकारी मण्डलले बताए । उनका अनुसार छनोट प्रक्रियालाई अन्तिम रूप दिएर बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ।
चालु आर्थिक वर्ष २०८२÷०८३ को सीमित बजेट र कार्यक्रमको दायराभित्र रहेर छनोट भएका किसानहरूलाई स्यालो ट्युबवेल जडानको सुविधा उपलब्ध गराइने उनले जानकारी दिए । खडेरी र वर्षा अभावका कारण खेतीपाती प्रभावित भइरहेको वर्तमान अवस्थामा यो कार्यक्रम किसानका लागि निकै प्रभावकारी सावित हुने विश्वास उनको छ ।
पछिल्लो समय रौतहटसहित मधेश प्रदेशका अधिकांश जिल्लामा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुने चिन्ता बढिरहेको छ। कृषि क्षेत्र मुख्य रूपमा मनसुनमा निर्भर रहेको अवस्थामा भूमिगत पानी प्रयोग गरी सिंचाइ सुविधा उपलब्ध गराउने स्यालो ट्युबवेल कार्यक्रमलाई किसानहरूले राहतको रूपमा लिएका छन् । यसबाट कृषि उत्पादन वृद्धि, खेतीयोग्य जमिनको सदुपयोग तथा खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।स्थानीय किसानहरूले खडेरीको समयमा सिंचाइको भरपर्दो विकल्पका रूपमा स्यालो ट्युबवेल उपयोगी हुने बताएका छन्।
उनीहरूले कार्यक्रमको लोकप्रियता र आवेदन संख्यालाई आधार मानी आगामी वर्षहरूमा बजेट वृद्धि गरी थप किसानलाई समेट्नुपर्ने माग गरेका छन् । किसानहरूको उच्च सहभागिता र बढ्दो आवश्यकता हेर्दा सिंचाइ पूर्वाधार विस्तारका यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी र व्यापक बनाउनुपर्ने आवश्यकता स्पष्ट देखिएको सरोकारवालाहरूको भनाइ छ ।