वीरगञ्ज,२० जेष्ठ//
विश्व साइकल दिवसको अवसरमा वीरगञ्जमा भव्य साइकल र्याली सम्पन्न भएको छ। भारतीय महावाणिज्य दूतावासको आयोजना तथा वीरगञ्ज साइकल क्लबको सहकार्यमा आयोजित र्यालीमा विभिन्न संघसंस्था, क्लब तथा साइकलप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
महावाणिज्य दूतावास परिसरबाट सुरु भएको र्याली नेपाल–भारत सीमा क्षेत्रस्थित शंकराचार्य गेट हुँदै वीरगञ्जका विभिन्न स्थानको परिक्रमा गरी सम्पन्न भएको वीरगञ्ज साइकल क्लबले जनाएको छ।
र्यालीमा भारतीय महावाणिज्यदूत देवी सहाय मिना, सामाजिक तथा खेलकुद क्षेत्रका प्रतिनिधि र विभिन्न क्लबका सदस्यहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले स्वस्थ जीवनशैली, वातावरण संरक्षण र प्रदूषण न्यूनीकरणका लागि साइकलको प्रयोग बढाउन जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएका छन्। आयोजकले दिगो यातायात र वातावरणमैत्री जीवनशैली प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।