महोत्तरी,२० जेष्ठ//
बालक अपहरण सम्बन्धी मुद्दाका फरार प्रतिवादी नवराज अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रौतहटको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय अधिकारीलाई रौतहटबाट नियन्त्रणमा लिइएको हो।
गत वैशाख ७ गते महोत्तरीबाट तीन जना व्यक्तिले ८ वर्षीय बालकलाई मोटरसाइकलमा राखेर अपहरण गर्ने प्रयास गरेका थिए। बालकले चिच्याएपछि स्थानीय बासिन्दाले मोटरसाइकल रोक्न खोजेका थिए। त्यसपछि अपहरणकारीहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए।
प्रहरीले अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको मोटरसाइकल बरामद गरेको थियो। फरार रहेका अधिकारीलाई जेठ १५ गते रौतहटको गौर नगरपालिका–५ स्थित हस्पिटल चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको छ।