काठमान्डौ,२० जेष्ठ//
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्।
भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सँगको भेटपछि मोदीले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार राष्ट्र रहेको उल्लेख गरेका हुन्।
मोदीले दुवै देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताएका छन्। उनले लामिछानेसँगको भेटप्रति खुसी व्यक्त गर्दै साझा समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
भाजपाको निमन्त्रणामा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल पाँचदिने भारत भ्रमणमा रहेको छ। प्रतिनिधिमण्डलमा निकिता पौडेल, विपीनकुमार आचार्य, दीपक बोहरा र प्रदीप आचार्य सहभागी छन्।