जेठ २१, रौतहट
लालबकैया नदी यतिबेला अवैध दोहनको चपेटामा परेको छ ।यो नदी अबैध रुपमा हुनेदोहनको मारमा सधैं पर्ने गरेको छ ।स्थानीय सरकारभि समयमै टेण्डर नगर्दा स्थानीय केही खोला माफियाहरुले फाईदा उठाउने मौका पाईरहेका छन ।कानुनी रूपमा टेण्डर प्रक्रिया नै पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा निकासी भईरहेको स्थानीय बताउँछन ।

सामान्य चोरीझैँ लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्करबीचको कथित “सेटिङ”मै खुलेआम नदी दोहन हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय समाजसेवीले बताए ।गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका क्षेत्रका जंगलसहिया, सिमरी, राँगी र बोटावा घाटमा बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीय बताउँछन । कानुनले टेण्डरबिनाको उत्खननलाई पूर्ण रूपमा निषेध गरे पनि व्यवहारमा भने नदी दोहन नियन्त्रणबाहिर गईरहेपछि स्थानीय बाढी र कटानको जोखिममा पर्ने चिन्तामा रहेको स्थानीय शम्भु चौधरीले बताए ।
केही बर्ष अघि टेण्डर प्रक्रिया नपु¥याई काम गर्न छुट दिएको आरोपमा फतुवा विजयपुर नगरपालिकामा नदी ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन मेयर गोपाल राय यादव दोषी ठहर भईसकेका छन । त्यसयता टेण्डर प्रक्रिया अलपत्र परेको छ भने भनसुन र सेटिङमै नदि दोहन जारी रहेको छ ।

कार्यवाहक मेयर अम्बेया खातुनले हालसम्म नयाँ प्रक्रिया अघि बढाउन नसक्दा पालिकाले राजश्व गुमाउँदै आएको छ भने नदी दोहन गर्नेहरु मालामाल भईरहेका छन ।उता गुजरा नगरपालिकामा पनि पछिल्ले दुई वर्षदेखि टेण्डर नखुलदा नदी कमाइखाने स्रोत बनेको स्थानीयको आरोप छ ।
स्थानीय स्रोतका अनुसार अवैध उत्खननमा संलग्न ट्र्याक्टर व्यवसायीले विभिन्न सुरक्षा निकायलाई मासिक रकम बुझाउने गरेका छन । इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बेस क्याम्प विजयपुर लक्ष्मिनियामा मासिक प्रति ट्र्याक्टर चार हजार रुपैयाँसम्म बुझाइने तथा अन्य प्रहरी चौकी हरिनगर छेदी चौक, सशस्त्र प्रहरी अस्थायी पोस्ट पोखरभिन्डामा मासिक २ हजार छुट्टै रकम दिने गरिएको आरोप छ । रकम बुझाएकै कारण प्रहरी कार्यालय अगाडिबाटै नदीजन्य पदार्थ बोकेका ट्र्याक्टर निर्वाध रूपमा ओहोरदोहोर गर्ने गरेको स्थानीय समाजसेवी मैनुदिन अन्सारीको दाबी छ ।

स्थानीयवासीका अनुसार केही जनप्रतिनिधि स्वयंले आफ्नै ट्र्याक्टर प्रयोग गरेर उत्खननमा संलग्न रहेको तथा केहीले व्यापारीसँग आर्थिक लाभ लिएर मौन समर्थन गरिरहेको अवस्था छ । नदी संरक्षण र राजस्व व्यवस्थापन गर्ने निकाय नै विवादमा मुछिँदा अवैध कारोबारी थप हौसिएको स्थानीयको भनाइ छ ।
नदी अनुगमन तथा नियन्त्रणको जिम्मेवारी पाएको जिल्ला समन्वय समितिमाथि समेत निष्क्रिय बनेको आरोप लागेको छ । स्थानीयका अनुसार नियमनकारी निकायको बेवास्ता र सुरक्षा निकायको कथित संरक्षणकै कारण लालबकैया नदी क्षेत्रबाट दैनिक सयौं ट्र्याक्टर नदीजन्य पदार्थ ढुवानी भइरहेको छ । विभिन्न स्थानमा ठूलो परिमाणमा गिटी, बालुवा र बोल्डरको अवैध भण्डारण समेत गरिएको पाईन्छ ।