जेठ २२, रौतहट
विश्व वातावरण दिवस–२०२६ को अवसरमा वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा सञ्चालित “एक बालबालिका, एक बिरुवा” अभियान अन्तर्गत रौतहट जिल्लाका गरुडा नगरपालिका तथा माधवनारायण नगरपालिकामा वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
ग्रामीण विकास केन्द्र नेपाल (RDC Nepal)को सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानमा रौतहटका करिब ७ हजार २ सय बालबालिकालाई प्रत्यक्ष रूपमा सहभागी गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। विश्व वातावरण दिवसको अवसर पारेर सुरु गरिएको यो अभियान जुन ५ देखि जुन १० सम्म सञ्चालन हुनेछ।

अभियानअन्तर्गत बालबालिकाहरूलाई विभिन्न प्रजातिका फलफूल तथा वातावरणीय दृष्टिले उपयोगी बिरुवाहरू वितरण गरिनेछ। प्राप्त बिरुवाहरू आफ्ना घर, विद्यालय तथा समुदायका सार्वजनिक स्थानहरूमा रोप्न बालबालिकालाई प्रोत्साहित गरिने कार्यक्रम रहेको छ। यस अभियानले वातावरण संरक्षणका साथै बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारीबोध तथा नेतृत्व क्षमताको विकास गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका सहभागीहरूले पछिल्लो समय विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न वृक्षारोपण प्रभावकारी माध्यम भएको बताएका छन्। वातावरणीय सन्तुलन कायम राख्न, हरियाली प्रवर्द्धन गर्न तथा स्वच्छ वातावरण निर्माण गर्न यस्ता अभियानको महत्वपूर्ण भूमिका रहने उनीहरूको भनाइ थियो।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालका अनुसार देशभर करिब ८० हजार बालबालिकाको सहभागितामा “एक बालबालिका, एक बिरुवा” अभियान सञ्चालन भइरहेको छ। अभियानलाई थप प्रभावकारी बनाउन प्रत्येक सहभागी बालबालिकालाई “मेरो बिरुवा कार्ड (My Tree Card)” समेत प्रदान गरिनेछ। उक्त कार्डमार्फत बालबालिकाले आफूले रोपेको बिरुवाको नियमित हेरचाह, वृद्धि तथा संरक्षणको विवरण अभिलेख राख्न सक्नेछन्।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, अभिभावक, बाल क्लबका सदस्यहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले वातावरण संरक्षण तथा दिगो विकासका लागि बालबालिकाको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अभियानको सफल कार्यान्वयनका लागि सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

आयोजक संस्थाका अनुसार बालबालिकाको नेतृत्वमा सञ्चालन हुने यस अभियानले वातावरणीय संरक्षणमा सकारात्मक योगदान पुर्याउनुका साथै भविष्यका पुस्तामा हरित सोच, प्राकृतिक स्रोतको संरक्षण र दिगो विकासप्रतिको चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। अभियानमार्फत हजारौं बिरुवा रोपिने भएकाले स्थानीय स्तरमा हरियाली विस्तार हुनुका साथै वातावरण संरक्षण अभियानलाई थप मजबुत आधार मिल्ने अपेक्षा गरिएको छ।