जेठ २२, रौतहट
विश्व वातावरण दिवसको अवसर पारेर रौतहटको चन्द्रपुर नगरपालिका–९ स्थित सिन्दुरेघारीमा रहेको जन्मोत्सव पार्कमा वृक्षारोपण गर्दै सामूहिक रूपमा जन्मदिन मनाइएको छ । वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गोलमोहरसहित विभिन्न प्रजातिका बिरुवा रोपेर जन्मदिन मनाइएको हो। कार्यक्रममा गन्तव्यराज पौडेलले आफनो जन्मदिनको अवसरमा गोलमोहरको बिरुवा रोपेर वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान सचिव, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड अफ डाइरेक्टर तथा “जन्मदिनलाई सत्कर्ममा जोडौं” अभियानका अवधारणाकार गोविन्द प्रसाद चौलागाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै चौलागाईंले जन्मदिनलाई केवल उत्सवका रूपमा मात्र नभई समाज र प्रकृतिप्रति उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहांले केक काटेर र तडकभडक गरेर जन्मदिन मनाउने संस्कृतिभन्दा वृक्षारोपण, सामाजिक सेवा तथा सकारात्मक कार्यमार्फत जन्मदिन मनाउन सके त्यसले समाज र वातावरण दुवैलाई लाभ पुग्ने बताउनुभयो ।“अब केक काटेर जन्मदिन मनाउनु भन्दा रुख रोपेर जन्मदिन मनाउन सक्यौं भने त्यही नै सबैभन्दा ठूलो सेवा हुनेछ। हामी सबै यो अभियानमा जोडिएर वातावरण संरक्षणमा योगदान दिनुपर्छ,” चौलागाईंले भन्नु भयो । कार्यक्रममा रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेल सहित जन्मोत्सव पार्कमा उपस्थित हुनुभएको थियो ।
आफनो जन्मदिन वातावरण संरक्षणको सन्देशसहित मनाउन पाउँदा अत्यन्त खुशी लागेको उहँहरुले बताउनु भयो ।समितिका सदस्य श्याम तामाङका अनुसार कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, आधा दर्जनभन्दा बढी संस्थाका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा नगरभरिकै सयौं नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले आगामी दिनमा जन्मदिन तथा अन्य विशेष अवसरहरूमा अनावश्यक खर्च र तडकभडक नगरी वृक्षारोपण तथा सामाजिक सेवाका कार्यक्रम गरेर मनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । “एक जनाले बिरुवा रोप्दा त्यसको लाभ केवल उसलाई मात्र होइन, सम्पूर्ण समाज, राष्ट्र र विश्व समुदायलाई पुग्छ। त्यसैले वातावरण संरक्षणको यो अभियान सबैले अपनाउनुपर्छ भन्ने सन्देश दिन खोजिएको हो,” सहभागीहरूले बताएका छन् ।
अभियानका अवधारणाकार चौलागाईंका अनुसार जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान अहिले देशका विभिन्न स्थानमा विस्तार भइरहेको छ । हजारौं नागरिक यस अभियानमा आबद्ध भइसकेका छन् भने जन्मदिनको अवसरमा वृक्षारोपण गर्ने संस्कृतिको विकास हुंदै गएको छ । शुक्रबार आयोजित कार्यक्रममा नव विकास बचत तथा ऋण सहकारी संस्था, माउन्ट एभरेष्ट इग्लिस बोर्डिङ स्कुल, चन्द्रोदय, नवउदय, न्यु झरना लगायतका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा करिब दुई सय विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकहरूले जानकारी दिएका छन् ।विश्व वातावरण दिवसको अवसरमा नेपालका तीन स्थानमा स्थापित जन्मोत्सव पार्कहरूमा पनि वृक्षारोपण गरी जन्मदिन मनाइएको जनाइएको छ । रौतहटमा मात्रै यस अभियानको सुरुवात भएदेखि हालसम्म करिब ७ हजार बिरुवा रोपिसकिएको अभियन्ता चौलागाईंले जानकारी दिनुभयो । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने यस अभियानले समाजमा सकारात्मक सन्देश फैलाउंदै गएको सहभागीहरूको विश्वास रहेको छ ।
