जेठ २९, रौतहट
चन्द्रपुर नगरपालिकाको वडा नं. ६ मा आगामी आर्थिक वर्ष २०८३र८४ मा सञ्चालन गरिने विकास निर्माण तथा जनहितका कार्यक्रमहरू छनोटका लागि वडा कार्यालयले स्थानीयवासीसँग योजना तथा कार्यक्रमको माग संकलन प्रक्रिया सुरु गरेको छ।
वडा अध्यक्ष सहदेव केसीद्वारा हस्ताक्षरित सूचनामार्फत स्थानीय सरकारको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियाअन्तर्गत वडा क्षेत्रभित्र सञ्चालन गरिने विकास निर्माण, सामाजिक रूपान्तरण तथा लक्षित वर्ग उत्थानसम्बन्धी योजनाहरूको छनोटका लागि वडावासी, टोल विकास संस्था, सामाजिक संघसंस्था तथा सरोकारवालाहरूलाई लिखित रूपमा योजना तथा कार्यक्रम सिफारिस गर्न अनुरोध गरिएको हो।
सूचनाअनुसार वडा क्षेत्रको आवश्यकता, जनसहभागिता तथा दीर्घकालीन महत्वलाई आधार मानी विभिन्न क्षेत्रका योजनाहरू समेटेर आगामी २०८३ असार ५ गतेभित्र वडा कार्यालयमा लिखित रूपमा माग तथा सिफारिस पेश गर्न आग्रह गरिएको छ।
वडा कार्यालयले योजना छनोटका क्रममा विशेषगरी पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिँचाइ, लक्षित वर्ग उत्थान, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
पूर्वाधार विकास अन्तर्गत टोलभित्रका भित्री सडकहरूको कालोपत्रे तथा ढलान, कल्भर्ट निर्माण, नाली व्यवस्थापन तथा सडक बत्ती जडानका योजनाहरूलाई प्राथमिकता दिइने जनाइएको छ। त्यस्तै शिक्षा, स्वास्थ्य तथा खानेपानीतर्फ सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक सुधार, स्वच्छ खानेपानीको पहुँच विस्तार र सरसफाइसम्बन्धी कार्यक्रमहरूलाई समावेश गर्न सकिनेछ।
कृषि तथा सिँचाइ क्षेत्रअन्तर्गत कृषकहरूलाई उन्नत बीउबिजन उपलब्ध गराउने, कृषि तालिम सञ्चालन गर्ने, बोरिङ जडान तथा सिँचाइ कुलो व्यवस्थापनका कार्यक्रमहरू प्रस्ताव गर्न सकिने वडा कार्यालयले जनाएको छ।
यस्तै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा युवाहरूको क्षमता विकास र आयआर्जन वृद्धिका लागि सीपमूलक तथा उद्यमशीलता प्रवर्द्धनका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखिएको छ।
विपद् व्यवस्थापन तथा वातावरण संरक्षण अन्तर्गत नदी नियन्त्रण तथा तटबन्ध निर्माण, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्द्धन तथा वृक्षारोपण कार्यक्रमहरूलाई समेत समेट्न सकिने उल्लेख गरिएको छ।
वडा कार्यालयले स्थानीय आवश्यकतामा आधारित, जनसहभागितामूलक तथा दिगो विकासलाई टेवा पुग्ने योजनाहरू प्रस्ताव गर्न सबै वडावासीलाई अनुरोध गर्दै विकास निर्माणका कार्यक्रमहरूलाई प्रभावकारी र परिणाममुखी बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।