जेठ ३०, रौतहट
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तर्जुमा गरिने नीति तथा कार्यक्रम, बजेट तथा राजश्वसम्बन्धी विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नगर कार्यपालिकाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, उद्योगी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफले प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा स्थानीय हका सरोकारवालाको सुझाव संकलन गरी जनमुखी, समावेशी र विकासमुखी बजेट ल्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।कार्यक्रमको मुख्य उद्देश्य नगरभित्र रहेका विपन्न, गरिब तथा सीमान्तकृत समुदायका साथै व्यवसायी वर्गको हकहितलाई प्राथमिकतामा राखी बजेट निर्माण गर्नु रहेको बताइएको छ। सहभागीहरूले स्थानीय आवश्यकता, पूर्वाधार विकास, रोजगारी सिर्जना, व्यवसाय प्रवद्र्धन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले आगामी आर्थिक वर्षका नीति तथा प्राथमिकताबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उहाँले नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह, सुशासन, पारदर्शिता, वातावरण संरक्षण तथा आर्थिक गतिविधि विस्तारलाई विशेष प्राथमिकतामा राख्ने जानकारी दिनुभयो।ढकालले सामुदायिक वन उपभोक्ता समूहको सशक्तीकरण, हरित नगर अवधारणा, इको–पर्यटन प्रवद्र्धन, नदी तथा जलाधार संरक्षण, सार्वजनिक सम्पत्तिको प्रभावकारी उपयोग तथा दिगो राजश्व व्यवस्थापनलाई आगामी बजेटका प्रमुख आधारका रूपमा अघि सार्नुपर्ने धाराख्नुभयो।राजश्व व्यवस्थापनका विषयमा बोल्दै उहाँले नगरपालिकाको उद्देश्य केवल करको दर बढाउनु नभई कर प्रणालीलाई न्यायपूर्ण, पारदर्शी र सहज बनाउंदै आर्थिक गतिविधिको विस्तारमार्फत दीर्घकालीन रूपमा राजश्व वृद्धि गर्नु रहेको स्पष्ट पार्नुभयो।

करको दायरा बाहिर रहेका व्यवसायलाई व्यवस्थित रूपमा कर प्रणालीभित्र ल्याउने, व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सरल बनाउने, डिजिटल तथा अनलाइन कर भुक्तानी प्रणालीलाई विस्तार गर्ने र स्वेच्छिक कर अनुपालनलाई प्रोत्साहन गर्ने विषयमा समेत उहाँले जोड दिनुभयो।त्यसैगरी करदाता र स्थानीय सरकारबीच विश्वासको वातावरण निर्माण गर्न करबाट उठेको रकम कहाँ र कसरी खर्च भइरहेको छ भन्ने जानकारी पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
राम्रो करदातालाई सम्मान तथा प्रोत्साहन गर्ने व्यवस्था, निजी लगानी आकर्षित गर्ने वातावरण निर्माण, कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रको विस्तारबाट स्वाभाविक रूपमा राजश्व वृद्धि गर्ने विषयमा समेत उहाँले सुझाव प्रस्तुत गर्नुभयो।

कार्यक्रममा उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुर, रौतहटका अध्यक्ष उदयनारायण सापकोटाले नगरपालिकाले विगतमा व्यवसायी समुदायसँग गरेका प्रतिबद्धता तथा सम्झौताहरू कार्यान्वयन हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाले नगर प्रमुखसँग विगतमा भएका विभिन्न सहमतिहरू सम्झाउँदै नगरको विकास, बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धनका क्षेत्रमा अपेक्षित काम हुन नसकेको आरोप लगाउनुभयो ।
अध्यक्ष सापकोटाले नगरको समग्र विकास र आर्थिक उन्नतिका लागि स्थानीय सरकार र निजी क्षेत्रबीच भएको सहकार्यलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै विगतका प्रतिबद्धता कार्यान्वयनमा नगरपालिका गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । त्यसको जवाफमा नगर प्रमुख संजय कुमार काफलेले नगरपालिकाले चौतर्फी विकास र समृद्धिको लक्ष्यका साथ निरन्तर काम गरिरहेको दाबी गर्नुभयो। उहांले नगरवासीको हित, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक क्षेत्रको सुधारका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

नगर प्रमुख काफलेले नगरको समग्र विकासका लागि निजी क्षेत्र, व्यवसायी, नागरिक समाज तथा सरोकारवालासंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी बजेटलाई जनताको आवश्यकता र सुझावका आधारमा निर्माण गरिने बताउनुभयो। उहाँले चन्द्रपुर नगरपालिकालाई समृद्ध, व्यवस्थित र लगानीमैत्री नगरका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले योजना निर्माण गरिरहेको जानकारी दिनुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नगरको विकास, राजश्व सुधार, व्यवसाय प्रवद्र्धन, वातावरण संरक्षण तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गरेका थिए। प्राप्त सुझावलाई आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समेटिने नगरपालिकाले जनाएको छ।