रौतहट, ३० जेठ ।
रौतहटको चन्द्रपुर नगरपालिका–६ स्थित सरस्वती युवा क्लबको विशेष साधारण सभाले श्यामलाल ठोकर (कर्ण)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। साधारण सभाले क्लबको विकास तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका २२ जनालाई सम्मानसमेत गरेको छ।
क्लबका अध्यक्ष शिव पुरीको अध्यक्षता तथा पूर्व सांसद देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य धनलाल ठोकर र वृन्दावन नगरपालिकाका पूर्व नगरप्रमुख रामस्नेही यादव विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिल्ला फुटबल संघ रौतहटका अध्यक्ष भगवान दर्लामी, चन्द्रपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव अवधेशहरि भट्टराई, क्लबका आजीवन सदस्य जगतनारायण कुँवर, नवसाद आलम, सुशील अधिकारीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमल्सिनाले २०२८ सालमै दर्ता भई स्थापना भएको सरस्वती युवा क्लब चन्द्रपुर क्षेत्रकै पुराना तथा ऐतिहासिक सामाजिक संस्थामध्ये एक रहेको बताए। पाँच दशकभन्दा बढी समयदेखि क्लबले खेलकुद, सामाजिक सेवा, सांस्कृतिक गतिविधि तथा युवाको नेतृत्व विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उनले जानकारी दिए।
उनले संस्थाको गौरवशाली इतिहासलाई संरक्षण गर्दै समयअनुकूल नयाँ पुस्तालाई संस्थासँग जोड्न आवश्यक रहेको बताए। युवाको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उल्लेख गर्दै क्लबले निर्वाह गर्दै आएको सामाजिक दायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे। संस्थागत विकास, नेतृत्व क्षमता अभिवृद्धि र युवाको सशक्तीकरणमा क्लबले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
क्लबका अध्यक्ष शिव पुरीले स्थापना कालदेखि हालसम्मका गतिविधिबारे जानकारी दिँदै संस्थाले खेलकुद विकास, सामाजिक सेवा, विपद् व्यवस्थापन तथा विभिन्न जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले क्लबको इतिहास, प्रतिष्ठा र उद्देश्यलाई जोगाउँदै आगामी दिनमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउंदै लैजानुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका अवसरमा क्लबको स्थापना, विकास, खेलकुद प्रवद्र्धन, सामाजिक सेवा तथा संस्थागत सुदृढीकरणमा विभिन्न समयमा योगदान पु¥याएका २२ जनालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदानले क्लबलाई आजको अवस्थामा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरेको जनाएको छ।
साधारण सभाले अध्यक्षमा श्यामलाल ठोकर (कर्ण), उपाध्यक्षमा धनबहादुर लामिछाने, सचिवमा दीक्षित पौडेल, सहसचिवमा निर्मल भण्डारी तथा कोषाध्यक्षमा सन्नी राउतलाई सर्वसम्मत चयन गरेको छ। सदस्यहरूमा कुमारसिं लामा, पवन चौधरी, सुवोध गिरी, सुमन स्थानी मगर, निकिता ठोकर, सागर घिमिरे, मन्दिरा राई तथा विरेन्द्र साह चयन भएका छन्। कार्यसमितिको बैठकले सोहेल खान र सम्झना चौधरीलाई सदस्य पदमा मनोनयन गरेको जनाएको छ।
