जेठ ३०, रौतहट
मधेश प्रदेशभर सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थाहरूको हकहित संरक्षण, अधिकार सुनिश्चितता, व्यवसायिक मर्यादा कायम, नियमन तथा समग्र शैक्षिक परामर्श क्षेत्रको सुधार गर्ने उद्देश्यसहित मधेश शैक्षिक परामर्श संघ नेपाल औपचारिक रूपमा गठन गरिएको छ। रौतहटको चन्द्रनिगाहपुरमा शनिबार सम्पन्न प्रदेशस्तरीय शैक्षिक परामर्श संस्थाहरूको भेलाले ११ सदस्यीय कार्यसमिति चयन गर्दै संघको स्थापना गरेको हो।
भेलामा मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालित शैक्षिक परामर्श संस्थाका सञ्चालक तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलाबाट गणेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा सिमा उप्रेती, सचिवमा ओम किशोर चौधरी तथा कोषाध्यक्षमा झरना योञ्जन चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रामहरि श्रेष्ठ, रेखा गुप्ता, राजु चौलागाई, सुमित भण्डारी, टिका जंग थापा, प्रेम पाण्डे र चिरञ्जीवी खनाल रहेका छन् ।

नवगठित संघका सचिव ओम किशोर चौधरीले मधेश प्रदेशमा रहेका सम्पूर्ण शैक्षिक परामर्श संस्थाहरूबीच एकता, सहकार्य र आपसी समन्वयको वातावरण निर्माण गर्दै व्यवसायिक अनुशासन र मर्यादालाई मजबुत बनाउने लक्ष्य संघले लिएको बताए। उनले शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी, पारदर्शी तथा सेवामुखी बनाउन संघले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार शैक्षिक परामर्श संस्थाहरूले भोगिरहेका संस्थागत समस्या, चुनौती तथा नीतिगत जटिलताहरूको समाधानका लागि संघले सम्बन्धित सरकारी निकाय, शैक्षिक सरोकारवाला संस्था तथा अन्य निकायहरूसँग निरन्तर समन्वय र संवाद गर्नेछ। साथै, विद्यार्थी तथा अभिभावकलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्न आवश्यक मापदण्ड तथा आचारसंहिता निर्माणमा समेत संघले पहल गर्ने जनाएको छ। नवनिर्वाचित अध्यक्ष गणेश थापाले शैक्षिक परामर्श संस्थाहरूले लामो समयदेखि विभिन्न प्रशासनिक झन्झट, अस्पष्ट नीतिगत व्यवस्था तथा नियमन सम्बन्धी समस्याहरू भोग्दै आएको उल्लेख गर्दै ती समस्याहरूको समाधानका लागि प्रदेश सरकारसँग प्रभावकारी संवाद र सहकार्य अघि बढाइने बताए ।

अध्यक्ष थापाका अनुसार शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन नीतिगत सुधार अपरिहार्य रहेको छ। यसै उद्देश्यलाई केन्द्रमा राख्दै भेलाले मधेश शैक्षिक परामर्श संघर्ष समिति समेत गठन गरेको छ। उक्त समितिले प्रदेश सरकारसमक्ष शैक्षिक परामर्श क्षेत्रका समस्या तथा मागहरू समेटिएको औपचारिक ज्ञापनपत्र बुझाउने, आवश्यक नीतिगत सुधारका विषयमा छलफल अघि बढाउने तथा क्षेत्रको दीर्घकालीन सुधारका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्नेछ ।
भेलामा सहभागीहरूले शैक्षिक परामर्श संस्थाहरूको भूमिका विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई उचित मार्गदर्शन प्रदान गर्नुका साथै शैक्षिक अवसरहरूको जानकारी उपलब्ध गराउने महत्वपूर्ण माध्यमका रूपमा रहेको उल्लेख गरेका थिए। उनीहरूले व्यवसायिक प्रतिस्पर्धालाई स्वस्थ, पारदर्शी र विद्यार्थीमैत्री बनाउन सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। संघले मधेश प्रदेशका सम्पूर्ण शैक्षिक परामर्श संस्थाहरूलाई एकताबद्ध भई साझा हित, व्यवसायिक अधिकार तथा क्षेत्रगत सुधारका लागि सहकार्य गर्न आह्वान गरेको छ।
अध्यक्ष थापाले संघ सम्पूर्ण शैक्षिक परामर्श संस्थाहरूको साझा मञ्चका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, विश्वसनीय र सम्मानित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए। नवगठित मधेश शैक्षिक परामर्श संघ नेपालले आगामी दिनमा संस्थागत सुदृढीकरण, नीति सुधार, क्षमता अभिवृद्धि तथा विद्यार्थी हितलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।